सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ताको प्रमाणपत्र बाध्यकारी नभएको व्याख्या गरेको छ। प्रमाणपत्र अनिवार्य र अपरिहार्य नहुने भन्दै सर्वोच्चले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ।
आपसी सल्लाहमा मन्दिरमा गएर विवाह गरेका, त्यसपछि डेरा लिएर पतिपत्नीको रूपमा बसेका तर विवाह दर्तालगायत कुनै पनि प्रक्रिया पूरा नगरेको अवस्थामा समेत विवाहित मान्न मिल्ने फैसलाको पूर्णपाठमा उल्लेख छ। एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्नीको रूपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर्ता अनिवार्य नहुने’ भनेको छ।
‘विधायिकाले कुनै कार्यबाट एक अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने भनी कानुनी आधार बनाएको थियो,’ सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘प्रत्यक्ष प्रमाणको अभाव भए पनि वैवाहिक सम्बन्ध देखिने अन्य सान्दर्भिक प्रमाण र परिस्थितिजन्य प्रमाणबाट निष्कर्षमा पुग्नुपर्ने हुन्छ।’
२०६४ सालमा विराटनगरस्थित मेट्रोपोलिस क्याम्पसमा उच्च तहको अध्ययन गरिरहेका बेला सुनसरीकी पवित्रा र मोहनकुमार चौधरीबीचको श्रीमान्–श्रीमतीको नाता कायम गरीपाऊँ मुद्दा फैसलाको सन्दर्भमा प्रमाणपत्र अनिवार्य र अपरिहार्य नहुने भन्दै सर्वोच्चले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ।

Comments
Post a Comment
Thank you !